हामी आएका छौं—नेपाल स्कुप (NepalScoop.com) का रुपमा।

पत्रकारिता समाजको ऐना हो, यो सर्वविदितै छ। तर, जब ऐनामै दाग हुन्छ, त्यसमा देखिने दृश्य कहिल्यै प्रष्ट हुँदैन। फोहोर ऐनाले दृश्यलाई नै दूषित बनाउँछ। त्यसैले, समाजलाई स्वच्छ र स्पष्ट रुपमा प्रस्तुत गर्ने संकल्पसहित हामी 'सफा ऐना' का रुपमा उपस्थित भएका छौं। हामी समाजको यथार्थ जस्ताको तस्तै पस्कनेछौं।

हाम्रो मूल मन्त्र सन्तुलन, वस्तुनिष्ठता र यथार्थवाद हो। यी शब्दहरू हाम्रा नारा मात्र होइनन्, व्यवहार हुन्। हामी ढिलो हुन तयार छौं, तर असत्य बोल्न तयार छैनौं। भनिन्छ, पत्रकारिता 'हतारको साहित्य' हो, तर हामी मान्दछौं कि पत्रकारितामा गल्ती अक्षम्य हुन्छ।

अनलाइन पत्रकारिताको संवेदनशीलतालाई हामीले गहिरोसँग बुझेका छौं। यहाँ सम्प्रेषण हुने सामग्री निमेषभरमै विश्वभर पुग्छ। यो पढ्ने, हेर्ने र सुन्ने—सबै इन्द्रियको संगम हो। हामी यो अवसरलाई जिम्मेवारीपूर्वक उपयोग गर्नेछौं। हामी तपाईंका लागि पठनीय, हेर्नैपर्ने र सुन्नैपर्ने गुणस्तरीय सामग्री लिएर आउनेछौं।

चुनौतीका चाङहरू छन्। अनलाइन मिडियाको संख्या ह्वात्तै बढेको छ, तर सँगसँगै विकृति पनि मौलाएको छ। यो भिडमा 'नेपाल स्कुप' लाई विकाररहित र विश्वसनीय सञ्चारमाध्यमका रुपमा स्थापित गर्ने हाम्रो अठोट छ।

यो अभियानमा तपाईंको साथ अनिवार्य छ। हामी तपाईंका रचनात्मक सुझावको प्रतीक्षामा छौं। प्रिय पाठक, दर्शक र स्रोता—हामी तपाईंलाई शब्दमा होइन, व्यवहारमै उच्च सम्मान गर्नेछौं।